
लन्डन चैत २३ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को अध्यक्षमा जीत रानाभाट निर्विरोध निर्वाचित भएका छन् ।
भर्चुअल माध्यमबाट आइतबार सम्पन्न चौथो महाधिवेशनले अध्यक्षमा रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि उपाध्यक्ष थिए । रानाभाट गैरआवासीय नेपाली संघ बेलायतमा पनि अहिले सचिव छन् । अध्यक्षसँगै १५ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् । कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी निर्विरोध बनेका छन् ।
त्यस्तै, वर्तमान कार्यसमितिकी महासचिव मञ्जु भण्डारी नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएकी छन् । नयाँ कार्यसमितिको सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध बनेका छन् । कार्यसमितिको ४ सदस्यमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी निर्विरोध बनेको छ भने बाँकी ४ सदस्य पछि मनोनित हुने व्यवस्था छ । भर्चुअल माध्यमबाट आज सम्पन्न भएको संस्थाको चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
त्यसअवसरमा संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल भएको थियो। अधिवेशनमा बेलायतका निकै धेरै संस्थाहरुबाट बाक्लो रुपमा उपस्थिति थियो। नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया कर्ण शाहीको संयोजकत्वमा रहेको समितिले सम्पन्न गरेको थियो । समितिमा फडिन्द्र भट्टराई सदस्यसचिव थिए भने राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य थिए ।






