लण्डन वैशाख ५ ।

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन प्रति बेलायतवासी नेपालीले श्रद्धासुमन व्यक्त गरेका छन् ।
बेलायतको स्वीण्डन क्षेत्रमा बस्ने नेपालीहरुले स्वर्गीय राजकुमारको सम्मानमा शवयात्रा र अन्त्येष्टि गरेका छन् । शनिबार अपरान्ह विन्सोर् क्यासलमा राजकुमार फिलिपको अन्त्येष्टि भइरहंदा वील्शायर नेपाली समाज, स्वीण्डनले पनि सम्मानस्वरुप अन्त्येष्टि कार्यक्रम नै गरेको छ ।
स्थानीय बर्कहर्स्ट कम्युनिटी सेन्टरमा शवयात्रासहित अन्त्येष्टिको कार्यक्रम गरिएको थियो । त्यसअवसरमा पाइपरले शोक धुन बजाएर समेत सम्मान व्यक्त गरेका छन्। समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले राजकुमार फिलिपले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्न अन्त्येष्टि कार्यक्रम नै राखिएको बताए ।
स्वर्गीय राजकुमार फिलिपले महारानी एलिजावेथ द्वितियाको सल्लाहकार र सहयोगीको रुपमा निभाएको अब्बल भूमिका, दोश्रो विश्वयुद्धमा जनाएको सुझबुझपुर्ण सहभागिता र कौशल, विश्वकै वन्यजन्तु तथा वातावरण संरक्षणमा पुर्याएको महत्वपूर्ण योगदान र राजपरिवारको अभिभावकको रुपमा निर्वाह गरेको भूमिकालगायतका योगदान स्मरण गरिएको अध्यक्ष गुरुङले जनाए ।






