
लन्डन वैशाख १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वका लागि हालसम्म चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
संघका उपाध्यक्ष र राज्य परिषद् अध्यक्षले आगामी जुलाईमा हुने (२०२१-२०२३) निर्वाचनका लागि एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दिने तीव्र तयारी गरेका हुन् । नयाँ नेतृत्वमा उम्मेदवारी दिने तयारीमा रहेका नेतृत्वहरु को कस्ता भन्ने विषयमा हामीले यहाँ प्रस्तुत गरेका छौं ।
प्रेम गाहामगर
वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले उम्मेदवारी दिने भएका छन् । दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका गाहामगरले । एनआरएनए यूकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमितिभित्र लडिरहेका गाहामगर गुल्मी जिल्लामा जन्मेका हुन् । एनआरएनए यूके गोर्खा विभागको प्रमुख संयोजकसमेत रहेका गाहा मगरले गत महिनामात्रै बेलायतस्थित प्रमुख गोर्खा संघसंस्थाहरुलाई एकै ठाउँमा बोलाएर छलफल तथा अन्तरक्रिया गराए । ती निष्कर्षहरुलाई बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई र ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनलाई पठाइसकेका छन् ।
नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी रहीसकेका गाहामगरले सन् १९९६ मा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए । त्यसलगत्तै सन् १९९७ मा उनले ब्रिटिस सेनाको तर्फ़बाट विभिन्न मुलुकमा भएका बक्सिङ्ग प्रतियोगितामा भाग लिएका थिए । सामाजिक सेवामा सधैं दत्तचित्त गाहामगरले एनआरएनएमा पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७-१९) बक्सिङ्ग शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाइ, दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरे । गत वर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।
रोजिना प्रधान राई
एनआरएनए यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख रोजिना प्रधान राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राख्दै आएकी छन् । कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा सफलतापूर्बक निभाइन् । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं । गैर आवासीय नेपालीको सम्पत्तिको सुरक्षा देखि भारतीय सिमा अतिक्रमण विरुद्ध प्रदर्शन र ज्ञापनपत्र बुझाउने क्रममा पनि रोजिनाले आफूलाई दरिलो उपस्थिति र ऐक्यवद्धता जनाइन् ।
महिला सशक्तिकरण र कोभिडले महिलामा पारेको असर न्यूनीकरणका लागि उनले नजिकबाट काम गरिन् । महिलाहरुले अवसर र अधिकार पाए नीति निर्माण तहमा पुगेर समाज परिवर्तन गर्न सक्छन् भन्ने उनको विश्वास छ । बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके छैटौं काउन्सिल बैठकको संयोजक थिइन् रोजिना । बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो ।
रोजीहिरा फाउण्डेशनकी संस्थापक अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्ररी प्रभावित भए । कतिलाई खाना, बस्न समेत समस्या भएपछि रोजिनाले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरि ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएको उनले बताइन् ।
कोभिड संकटका बेला दुईसय भन्दा बढी विद्यार्थीलाई सहयोग गरेको राई बताउंछिन् । कोभिड कालमा चार जना विधार्थीलाई आफ्नै घरमा राखेर रेखदेख गरिन् । दु:ख पाएका विधार्थीलाई अहिले पनि काउन्सिलिङ गरिरहेको उनले बताइन् । प्रत्येक ६-६ महिनामा रक्तदान गर्ने उनी ब्लाइन्ड रक्समार्फत दृष्टिविहीनहरुलाई पनि सहयोग गरिरहेकी छन् । यूके नेपाल फ्रेण्डसीप सोसाइटीकी ब्राण्ड एम्बासडर र ह्यूमन राइट्स यूके सदस्य रोजिनाले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न आफ्नो हैसियतले भ्याएसम्म पहल गरिरहेको पनि बताइन् ।
रोजीहिरा फाउन्डेशनले खोटाङ जिल्ला खोटेहाङ गाउंपालिका वडा नं. २ कपासे भञ्ज्याङमा रहेका विपन्न २० घरधुरीलाई पनि एक महिना पुग्ने राहत वितरण गरयो । सिन्धुपाल्चोकको इचोक गाउंमा भूकम्प पीडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर उक्त शिविरबाट झण्डै एकहजार जना लाभान्वित भएको उनले स्मरण गरिन् । उनले श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पठनपाठनमा प्रायोजन गर्दै आएको पनि जनाइन् ।
बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले कयौं व्यवसायमा हात हालेकी छन् । रोजिनालाई व्यवसाय सञ्चालन गर्न आफ्नो श्रीमान हिराधन राईले पनि प्रेरित गरेका छन् । रोजिनाले केही महिनाअघि ‘गोर्खा सनराइज क्यास एण्ड क्यारी’ सञ्चालन गरेकी छन् ।
रेडिङमा ‘द ऐला रेष्टुरेन्ट एण्ड बार’ पनि छ उनको । स्मार्ट ९१ रिक्रुटमेन्ट सर्भिस, ट्रेडिङ र नेपालमा हाइड्रो पावर व्यवसायमा पनि आफूहरु आवद्ध रहेको उनले जनाइन् । व्यवसायमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि सधैं अग्रसर रहने उनको प्रण छ ।
बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राइ यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानबाट सम्मान पाइसकेकी छन् ।
सुनिल खड्का
एनआरएनए यूकेका उपाध्यक्ष तथा समाजसेवी सुनिल खड्का आगामी नेतृत्वका लागि अग्रसर भएका छन् । बेलायतमा बसोबास गरिरहेका नेपाली तथा एसियन मुलका नागरिकहरुमाझ सहयोग तथा सहृदयी छबि बनाएका खड्का एनआरएनए यूके च्यारिटी विभागका संयोजकका रुपमा कार्यरत छन् ।
बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरिरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहँदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनले बताए ।
अहिले सतहमा आएका अन्य सम्भावित उम्मेदवारहरुको तुलनामा खड्का च्यारिटी कर्ममा अझ बढी सक्रिय रहेकाले र बेलायतमा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागिरहेकाले पनि नेतृत्व लिन उत्साहित भएको खड्काले बताए । एनआरएनए यूकेको एउटा समूह अहिले मुद्दा मामिला र अनावश्यक राजनीतिमा अल्झिरहँदा उनी सदस्यता संख्या विस्तारमा सक्रिय भइरहेका छन् । बेलायतको नेपाली समुदाय राजनीतिक, सामाजिक तथा जातीय रुपमा विभाजित छ । एनआरएनए यूकेभित्रको किचलो त झन् बढी सतहमा आएको देखिन्छ । संघभित्रको आन्तरिक विवादमा समेत आपसी एकतालाई जोड दिंदै नेपाल र नेपालीको हितार्थ पक्षधर खड्काले समाजलाई एक ढिक्का बनाउन, नेपालीका हक हितमा काम गर्न र मातृभूमिको समृद्धिका लागि वास्तविक नेपाली शक्ति परिचालनमा पनि संघको नेतृत्व लिन आवश्यक रहेको बताए ।
वकिङमा बसोबास गरिरहेका सक्रिय उद्यमी तथा समाजसेवी खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छ । बिगत दुई दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहेका खड्काले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । अहिले पनि त्यो क्रम जारी छ ।
लकडाउनले विशेषतः हस्पिटालिटी क्षेत्र संकटमा रहेका बेला त्यो पीडा बिर्सेर न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएका थिए ।
दीपक श्रेष्ठ
इंग्ल्याण्ड राज्य समन्वय परिषद्मा कार्यरत दीपक श्रेष्ठ आगामी जुलाईमा हुने एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि अध्यक्ष आकांक्षीहरुमध्ये एक हुन् । श्रेष्ठ एनआरएनए इंग्ल्यान्ड राज्य परिषद्का अध्यक्ष छन् । एनआरएनए अभियानमा सक्रिय श्रेष्ठ एनआरएनए यूकेकै कार्यसमिति कोषाध्यक्ष र सदस्य भएर काम गरिसकेको अनुभव छ ।
गत निर्वाचनबाट एनआरएनए यूके चार राज्य समन्वय परिषद्मा विस्तार भएपछि उनले सबैभन्दा ठूलो इंग्ल्याण्ड राज्य समन्वय परिषद्को नेतृत्व गर्न पुगे । एनआरएनए यूके सदस्यबाट सुरु गरेको यात्रालाई श्रेष्ठले अध्यक्षजस्तो नेतृत्वदायी भूमिका निर्वाह गरी नयाँ योजना घोषणा गर्ने जनाए ।
बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्षको जिम्मेवारी लिएर सामाजिक क्षेत्रमा आफूलाई स्थापित गरिसकेका श्रेष्ठ नेपाली समुदायलाई ऐतिहासिक योजना पस्कने तयारीमा छन् । त्यसको लागि आफ्नो हातमा एनआएनए यूकेको नेतृत्व आए योजना कार्यान्वयनमा सघाउ पुग्ने विश्वास उनको छ । इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष रहँदा कोरोना संक्रमणमा परेका नेपाली समुदायलाई गरेका मानवीय कार्यहरुमध्ये कोभिड राहत कोषको जिम्मा लिएर एनआरएनए यूकेमार्फत नेपाली समुदायलाई ठूलो सहयोग गर्ने मानवीय कार्यको नेतृत्व गरे ।
बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने परम्परा शुरु गरे । भारतले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रमलाई अन्तर्राष्ट्रिय स्तरमा निराकरण गर्न सो अभियान शुरु गरेको उनको भनाइ छ । जसमा बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायतलगायतका सहयोग रहँदै आएको छ ।
त्यसबाहेक बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तुमा वुद्ध वृद्धाश्रम पनि निर्माण गरिरहेको छ ।
हालै राज्य समन्वय परिषदले लन्डन वुलवीच–ब्राइटन च्यारिटी साइकल यात्रा गर्यो । उक्त कार्यक्रम मार्फत संकलित रकममध्ये हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एक लाख ९२ हजार रुपैयां हस्तान्तरण गरिसकिएको छ ।
बेलायतमा युवा नेपाली व्यवसायीका रुपमा स्थापित श्रेष्ठले व्यवसायसँगै सामाजिक कार्यलाई निरन्तरता दिइरहेका छन् । लन्डनको दक्षिण पूर्वमा बसोवास गर्दै आएका श्रेष्ठले फार्मेसी, क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसायमा लगानी गरेका छन् । नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि., हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. मार्फत जन्मभूमि नेपाललाई आर्थिक सहयोग पुर्याइरहेका छन् ।






