लन्डन वैशाख १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी निर्वाचनमा जीत रानाभाटले महासचिव पदमा उम्मेदवारी दिने भएका छन् । हाल उनी सचिव छन् ।
रानाभाट एनआरएनए यूकेको सन् २०१७-२०१९ कार्यसमितिमा सदस्य र २०१९-२०२१ कार्यसमितिमा सचिव पदमा निर्वाचित भएका थिए । सन् २००८ देखि नै एनआरएनए अभियानमा संलग्न रानाभाटले दुई कार्यकाल कार्यसमितिमै रहेर काम गरिसकेपछि संस्थाको लागि अझ बढी योगदान दिन उत्प्रेरित बनेको बताए । ‘एनआरएनए अभियानप्रतिको पहिल्यैदेखिको लगाव र केही गरौं भन्ने हुट्हुटीले यसपटक मलाई महासचिवको जिम्मेवारी लिन अग्रसर बनाएको छ’, रानाभाटले भने, ‘अभियानमा सँगसंगै काम गर्दै आएका सहकर्मी, अग्रज र शुभचिन्तकहरुको शुभेच्छाले थप प्रोत्साहन र हौसला दिलाएको छ ।’एनआरएनए यूकेको व्यापार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुखको रुपमा उनले विभिन्न समयमा बेलायतस्थित नेपाली व्यवसायीका लागि उपयोगी र सहयोगमूलक कार्यक्रम गर्दै आएका छन् ।
पोखरा युनिभर्सिटीबाट अंग्रेजी साहित्यमा विशिष्ट श्रेणीमा मास्टर्स उत्तीर्ण गरेका उनले एमफिलसम्मको अध्ययन पनि विशिष्ट श्रेणीमै पूरा गरेका छन् । नेपालमा प्राध्यापन र शैक्षिक संस्था व्यवस्थापनमा एक दशक बढी समय बिताएका रानाभाट सन् २००८ मा ‘हाईली स्किल्ड् माइग्रेन्ट’ का रुपमा बेलायत आएका थिए । बेलायतमा उनले निर्माण व्यवसाय संचालन गर्नुका साथै प्रपर्टी बिजनेसमा समेत संलग्न रहंदै आएका छन् ।
साउथ इष्टको प्लमस्टिडमा दुई छोरी र श्रीमतीसहित बस्दै आएका रानाभाट नेपालमा पोखराका हुन् । एनआरएनए अभियानका साथै अन्य थुप्रै संस्थामा आबद्ध रहेर रानाभाट सामाजिक कार्यहरुमा सक्रिय रहंदै आएका छन् । साउथ इष्ट लन्डनका नेपालीहरुको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ मा महासचिव र उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका उनी हालै मात्रै संस्थाको सर्वसम्मत अध्यक्ष बनेका छन् ।
‘नेप्लिज् प्रोफेसनल्स् यूके’, यती नेपाली एशोसिएसन् यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर प्लमस्टिड लगायतका कयौं संस्थामा कार्यसमितिका महत्वपूर्ण भूमिकामा रहेका उनी आधा दर्जन बढी संघसंस्थामा सल्लाहकारको रुपमा पनि आबद्ध छन् ।
साउथ इष्ट लन्डनका ग्रीनवीच र बेक्सली काउन्सिलसँग समेत नजिक रहेर काम गर्दै आएका छन् रानाभाटले । महामारीका बेला समुदायमा पुर्याएको सहयोगको कदरस्वरूप उनलाई हालै बीबीसी लन्डन रेडियोले ’मेक अ डिफरेन्स् हिरो’ को रुपमा कदर गरेको थियो ।
नेपाली नागरिकताको निरन्तरता, पूर्व गोर्खाका अधिकार स्थापना, सामुहिक लगानी प्रवर्द्धनसहितका एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता उनको छ । केही समयभित्रै एक औपचारिक कार्यक्रममार्फत् आफ्नो उम्मेद्वारी घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने रानाभाटले जनाएका छन् ।






