लण्डन जेठ ११ ।

कोरोना महामारीको दोस्रो लहरले आक्रान्त बनिरहेको नेपाललाई पासा पुच: गुथी यूकेले १० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि सात हजार पाउण्ड अर्थात करिब एघार लाख ४८ हजार रुपैयाँ बराबरको चेक एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गरेको छ ।
चेक हस्तान्तरण कार्यक्रममा पासा पुच: गुथी यूके अध्यक्ष ओजेश सिंह, महासचिव सन्दिप श्रेष्ठ कोषाध्यक्ष– रजनी श्रेष्ठ, रेडिंग ईकाई अध्यक्ष – जानकी कायस्थ, सल्लाहकारहरू शिवजी शेष्ठ, पत्रकार तथा अल्डरसट इकाई अध्यक्ष केशव श्रेष्ठ, पासा पुच: गुथी आजीवन सदस्य तथा एनआरएन यूके उपाध्यक्ष एवं आगामी अध्यक्षकी प्रत्यसी रोजीना प्रधान राई लगायतको उपस्थिति रहेको थियो ।
गत मे १५ मा एनआरएनए यूके र लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीसहितको आपतकालिन बैठकको आयोजना गरि ‘अक्सिजन पठाऔँ – नेपालीको ज्यान बचाऔँ’ अभियान अन्तर्गत एक संस्था – न्यूनतम एक अक्सिजन कन्सन्ट्रेटर अभियान सञ्चालन गरेको थियो । सोहि अभियानलाई सफल पार्ने उद्देश्यले पासा पुच: गुथी यूकेले पनि १० वटा अक्सिजन कन्सन्ट्रेटरको लागि सहयोग संकलन गरेको हो ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पासा पुच: गुथी यूकेले गरेको योगदानको कदर गर्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन् । छोटो समयमै बेलायतवासी नेपालीहरुले देखाएको उत्साहपूर्ण कार्य निकै सह्रानीय रहेको पनि गुरुङले बताइन् । यसैगरी मातृभूमी नेपालको र नेपालीको दु:खमा साथ र सहयोग पुर्याउने उद्देश्यले सहयोग गर्ने सम्पूर्णमा पासा पुच: गुथी यूकेले आभार प्रकट गरेको छ ।
जीवन रक्षाको पहिलो प्राथमिकता नै अक्सिजन भएको र नेपालमा अक्सिजनका कारण कयौंको ज्यान गइरहेको हुँदा एनआरएनए यूकेले अक्सिजन कन्सन्ट्रेटर नै सहयोग गर्ने योजना अघि सारेको हो । यस अभियानमा बेलायतका एक सय भन्दा बढी संघसंस्थाहरुले खुलेर सहयोग गरेका छन् भने व्यक्तिगत पहलमा पनि सहयोग प्राप्त भइरहेको एनआरएनए यूकेले जनाएको छ ।
बेलायतबाट नेपाललाई करिब दुई लाख ५० हजार बराबरको सहयोग पुग्न सक्ने अनुमान गरिएको छ ।






