
लन्डन जेठ १२ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको मातृभूमि नेपालका लागि ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रमबाट ५ हजार ४ सय ९२ पाउन्ड १९ पेन्स संकलन भएको छ ।
शनिबार र आइतबार भएको कार्यक्रममा ५ हजार ४ सय ९२ पाउन्ड १९ पेन्स संकलन भएको गायक सपनकुमार राई, मञ्जु गुरुङ राई, शर्मिला बर्देवा र प्रतिमा जोशीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वअध्यक्ष एवं व्यवसायी सूर्य गुरुङद्वारा फानबोरोमा सञ्चालित गोर्खा प्यालेसबाट मंगलबार फेसबुक लाइभ गर्दै सपन, मञ्जु, शर्मिला र प्रतिमाको टिमले उठेको सहयोगबारे जानकारी दिँदै उक्त रकम दिने व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरेको हो ।
भर्चुअल सांगीतिक कार्यक्रमका सञ्चालिका एवं समाजसेवी मञ्जु गुरुङले सहयोग रकमबारे जानकारी दिँदै पुनम गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले ‘नेपालमा अक्सिजन पठाऔं, नेपालीलाई बचाऔं’ अभियानमा ४ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न २ हजार ८ सय १९ पेन्स पाउन्ड, क्याप्टेन विजय लामा लगायतको सञ्चालना रहेको ‘न्यानोपन’लाई ६ सय ७३ पाउन्ड, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ६ सय ७३ पाउन्ड, हित काजी गुरुङ नेतृत्वको तमुधिं यूकेलाई ६ सय ७३ पाउन्ड र लोकप्रिय एवं सामाजिक अभियन्ता गायक मिलनमार्फत ६ सय ७३ पाउन्ड सहयोग उपलब्ध गराउने घोषणा गरिन् ।
नेपाली भएको पीडादायी क्षणमा कसको मन नदुख्ला र सबै विदेशमा रहेका नेपालीहरुले सहयोग गर्न तत्परता देखाइरहेको उल्लेख गर्दै मञ्जुले नेपालमा धेरै मेडिकल सामग्री आवश्यक रहेकोले आफूहरुबाट केही सहयोग गरिएको बताइन् । उनले गायक सपन कुमार र शर्मिला बर्देवाले आफ्नो प्रस्तुतिसहितको कार्यक्रममा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन् ।
गायक शर्मिला बर्देवाले फेसबुक हेरेर र सहयोग गर्नै सबैलाई धन्यवाद दिइन् । उनले सपनकुमार राई, मन्जु दिदी र प्रतिमालाई पनि आभार व्यक्त गरिन् ।
कार्यक्रम कोअर्डिनेटर प्रतिमा जोशीले आफूलाई अवसरको लागि टिमप्रति नै धन्यवाद दिँदै आफूहरुको अभियानमा समय र सहयोग दिने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।
मे २२ शनिबार र २३ तारिख आइतबार साँझ कार्यक्रम भएको थियो । कार्यक्रममा चर्चित गायक/गायिका सपनकुमार राई र शर्मिला बर्दिवाले नेपाली र हिन्दी चर्चित गीतहरु गाएका थिए ।






