लन्डन असार ४ । नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिँदै रेडिङ नेपाली समाज (जी आर एन सी ए) यूकेले प्रतिमिनेट १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको छ ।
नवलपरासी डाँडासुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई ती कन्सनट्रेटर हस्तान्तरण गरिसकेको अध्यक्ष टेक गुरुङले जानकारी दिए । नेपालमा रहेका स्वयंसेवक तथा संयोजक डा. पुष्पमणि खरालको संयोजनमा १४ जुनमा अस्पताललाई उपकरण दिइएको हो । जीआरएनसीएले कोभिड १९ महामारीका बेला महावीर पुनको च्यारिटी संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो ।
सन् २००१ मा स्थापित उक्त संस्था सन् २००८ मा च्यारिटी कमिसनमा दर्ता भएपछि यसले सामाजिक कार्यलाई तीव्रता दिइरहेको छ । समाजका ५५ स्वयंसेवकहरुको टिमले रेडिङ र हवीट्ली पिसिएन सेन्टरमा १८ हप्ता भन्दा बढी स्वयंसेवा गरेपछि ‘पिपुल्स् अवार्ड’ समेत पाएको थियो ।






