
केन्ट असार १३ । तमू समाज केन्ट यूकेले कोभिड १९ को महामारीमा परेका निम्न आय भएका नागरिकलाई सहयोग गर्ने उद्धेश्यले नेपालमा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
बसुन्धरास्थित ग्रिनसिटी अस्पताल र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमार्फत सहयोग गर्ने गरी शनिबार एक समारोहकाबीच तमू समाज केन्ट यूकेले सहयोग प्रदान गरेको हो । समाजले ग्रिनसिटी अस्पताललाई ५ लाख ७७ हजार, डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख र पबित्र गुरुङलाई १ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । त्यसैगरी समाजले एनआरएनए यूकेलाई पनि २ वटा अक्सिजन कन्सन्ट्रेटरको लागि १४०० पाउन्ड गत मे महिनामा हस्तान्तरण गरिसकेको समाजका महासचिव गोलमान गुरुङले बताए ।
यूकेका तर्फबाट महिला संयोजक पबित्र गुरुङले ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई ५ लाख ७७ हजार र डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेललाई ३ लाख हस्तान्तरण गर्दै सहयोगको सहि ठाउँमा उपयोग हुने बिश्वास ब्यक्त गरेका छन् ।
सो अवसरमा तमू समाज केन्ट यूकेका अध्यक्ष राजदेवी गुरुङले अर्चुअलमार्फत संबोधन गर्दै आफूहरु देश बाहिर भए पनि भावना र मन नेपालमै भएको र आफ्नो समाजले गरेको सहयोगले दुखिरहेको घाउमा मलमपट्टी लगाउने विश्वास ब्यक्त गरेकी छ्न् ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष एवं वर्तमान सल्लाहकार चित्र गुरुङले आफूहरु नेपाली भएकोले पनि सहयोगका हात बढाईरहने बिश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले अस्पताल र तमू समाज केन्ट यूके बीचको सहकार्य उदाहरणीय हुने बताएका छन् । उनले अस्पतालले बिगतमा पनि दीनदुखीका लागि निशुल्क उपचार गर्दै आएको जानकारी पनि गराए ।
ग्रिनसिटी अस्पतालले निकै लामो समयसम्म दिशा गर्न नसकेकी एक बालिकाको नि:शुल्क अप्रेशन गर्ने लगायतका आर्थिक स्थिति कमजोर भएर उपचार नपाएका धेरैको उपचार गरी उदाहरणीय कार्य गर्दै आएको छ । सोही अस्पतालका फाइनान्स डाइरेक्टर रेनुका गुरुङले आर्थिक स्थिति कमजोर भएर कोही पनि उपचारबाट बञ्चित नहुन भन्ने उद्देश्यले तमू समाज केन्ट यूकेका पदाधिकारी र सदस्यहरुले गरेको सहयोग प्रति आभार ब्यक्त गर्दै यो सहयोगलाई सबद्ध पक्षका लागि उपयोग गरिने बिश्वास दिलाएकी छन् ।
अस्पतालमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख कार्यकारी निर्देशक मीरा पोख्रेलले यो सहयोग मिनी अक्सिजन प्लाण्टका लागि खर्च गरिने जानकारी गराए ।
नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक बद्री काजी गुरुङले संचालन गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ पत्रकार एवं जनता टेलिभिजनका प्रधानसम्पादक टंक पन्त, समाजसेवी उमेश श्रेष्ठ, संघीय संसद् सचिवालयका उपसचिव कमल खड्का, अस्पतालका आइटी अधिकृत प्रबीन टण्डन लगायतको उपस्थिति थियो ।
तमू समाज केन्ट यूकेले २०१५ सालको महाभूकम्पको बेला भूकम्पले ग्रसित गोरखाको दुर्गम केराबारी १ नेपानेमा अवस्थित नेपाने माध्यमिक विद्यालयमा समाजद्वारा आर्थिक सहयोग गरि पुस्तकालय भवन निर्माण गरेको थियो । समाजले स्थापनाको १४ वर्षदेखि नेपालमा अप्ठ्यारो पर्दा पबित्र भावनाका साथ आर्थिक एवं अन्य सहयोग पनि गर्दै आएको छ ।






