लन्डन साउन २ । एनआरएनए यूकेको ३१ जुलाईमा हुने निर्वाचनमा पवन शर्माले उपाध्यक्ष पदमा उमेदवारी दिने बताएका छन् ।
एनआरएनए यूकेको संस्थागत सुधार, संस्थाको सदस्यता वितरण प्रणाली नै परिवर्तन गर्ने, यसलाई ‘नन प्रोफिट अर्गनाइजेसन’ मा लैजाने, नेपाली भाषा तथा कला संस्कृतिको प्रवर्धन गर्ने लगायत एजेन्डासहित उनले उम्मेदवारी दिने बताएका हुन् । विगतमा पीटरबरो नेपाली समाजमा फन्डिङ कन्सेप्टलाई मूर्त रूप दिन सफल उनी एनआरएनए यूकेमा पनि त्यही कन्सेप्ट लागू गर्न पहल गर्ने सोचमा छन्।
नेपाली समुदायको प्रयोगका लागि सामुदायिक भवन निर्माण गर्न उनीसँग ‘कम्युनिटी एसेट ट्रान्सफर’ कन्सेप्ट पनि मनमा छ । सो परिकल्पना पीटरबरो नेपाली समाज र श्रीजनशील लेस्टर समाजमा अगाडि बढिसकेको उनले बताए । मिडियाबाजी र अपत्यारिला आश्वासनबाट सधैं टाढा रहने पवनले आफूसँग अरु धेरै योजना भएको बताउँदै मत दिएर जिताउन सबैमा अपिल गरेका छन् ।
नेपाली समुदायले उनलाई बौद्धिक मात्र होइन, आर्थिक र सामाजिक रुपमा पनि सक्षम र भिजन भएका युवा उधमी मानेको छ ।
को हुन् पवन ?
पेशाले चार्टर्ड अकाउनटेन्ट पवन एनआरएनए अभियानमा लामो समय देखि सक्रिय छन्। बेलायतमा तीन रेस्टुरेन्ट, एउटा होटल र रिक्रूटिङ कम्पनी सन्चालन गरिरहेका शर्मा सन् २००५ मा बुटवल हुँदै यूके आएपछि अध्ययनसंगै करिअर र समाजसेवामा होमिए ।
कप्लान इन्टरनेशनल र लण्डन स्कुल अफ विजनेश एन्ड फाइनान्सबाट एसीसीए गरेर क्वालिफाइड भएपछि सन् २०१३ सम्म बेलायतका विभिन्न अकाउनटेन्सी फर्ममा काम गरेका पवनले सोही बर्ष एउटा रेस्टुराँमा सानो लगानी गरे । आफ्नो सीप, लगाव र मेहनतले उनी अहिले व्यवसायमा सफल छन्।
सन् २००६ देखि बेलायतको पिटरबरो बस्दै आएका पवन पीटरबरो नेपाली समाजका संस्थापक सदस्य हुँदै पूर्व अध्यक्ष र अहिले ट्रस्टी छन् ।
एनआरएनए यूकेको २०१७- २०१९ कार्यकालमा सदस्य निर्वाचित उनी साझा नेपाली समाज मिड्ल्यान्डको २०१३-२०१५ कार्यसमितिमा महासचिव भएर पनि काम गरिसकेका छन्। अहिले साझा नेपाली समाजको ट्रस्टी छन् उनी ।
यूके नेपाल फ्रेन्डसीप सोसाइटीको बोर्ड अफ डाइरेक्टर पनि हुन् पवन ।






