लण्डन साउन ११ ।

नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ ।
शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका बीच पत्रकार खनाललाई सो पुरस्कार प्रदान गरिएको हो । पत्रकार खनाललाई शाखाका संस्थापक अध्यक्ष नविन पोखरेलले ५०२ पाउण्ड राशी, निवर्तमान अध्यक्ष नरेश खपाङ्गीमगरले सम्मान पत्र र अध्यक्ष ध्रुवराज अर्यालले खादा लगाई सम्मान गरेका थिए ।
शाखाका अध्यक्ष अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको संचालनमा भएको सो समारोहमा सचिव खेमराज रानाभाटले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष मगरले बेलायतमा रहेका नेपाली पत्रकारहरुबाट खोजमूलक समाचार सामग्री लेखनमा प्रोत्साहन दिन पुरस्कार स्थापना गरेको बताए भने पुरस्कृत पत्रकार खनालले रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययनका बेला र पत्रकारिता अभ्यासका क्रममा असल सम्पादकहरुसित काम गर्न पाएका कारण आफू अहिले यस स्थानमा आइपुग्न सक्षम भएको बताए ।
शाखाले बेलायतमा कार्यरत नेपाली मूलका पत्रकारहरुद्वारा सम्प्रेषित उत्कृष्ट समाचारलाई हरेक वर्ष पुरस्कृत गर्ने उद्देश्यले यसै वर्षदेखि सो पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशी एकल भए ५०२ पाउण्ड दुई जनालाई भए जनही २५१ पाउण्ड र सम्मान पत्र राखिएको छ । खनालको हिमालखबर डटकममा २०७७ कात्तिक १५ गते प्रकाशित ‘ला बास्सीबाट गोर्खाली बह‘ शीर्षकको सामग्रीलाई यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
पत्रकारिता डकुमेन्ट्री निर्माण र पुस्तक लेखनमा पनि सक्रिय खनालको तीन वटा पुस्तक प्रकाशित छ । पुरस्कृत पत्रकार छनौटका लागि डा.कृष्ण अधिकारीको संयोजकत्वमा डा.प्रियवदा पौड्याल, नरेश खपाङ्गीमगर र डा.जगन कार्की रहेको एक छनौट समिति गठन गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति थियो ।






