
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा महिला सचिव पदमा उम्मेदवारी दिएकी नम्रता घले गुरुङले संघमा महिला सहभागिता वृद्धि गर्ने र नेपाली बालबालिकालाई दुर्व्यवहार रोक्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
संस्थाप्रतिको विश्वास बढाउन धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले महिला र बालबालिकालाई पनि केन्द्रमा राखेर काम गर्न जरुरी रहेको उनले बताइन् ।
‘संघमा नेपाली महिलाहरुको सहभागिता वृद्धि हुन सकेको छैन,’ उनले भनिन्, ‘जबसम्म महिलाहरुको सहभागिताबारे हामीले ध्यान दिन सक्दैनौं, संस्था संस्था जस्तो हुन सक्दैन ।’
पछिल्लो समय बालबालिकामाथि दुर्व्यवहार हुने क्रम बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न जरुरी रहेको उनको बुझाइ छ । यसका लागि बालबालिका स्वयम् र अभिभावकहरुलाई पनि चेतनाको आवश्यकता पर्ने उनले बताइन् ।
‘अहिले बालबालिकाहरु साइबर बुलिङको शिकार हुने क्रम बढ्दो छ, यसले बालबालिकामा गम्भीर असर परेको छ,’ उनले भनिन्, ‘यसबाट कसरी जोगिने भन्ने बारेमा अभियान नै चलाउन खाँचो रहेको छ।’
आफू महिला सचिवमा निर्वाचित भएपछि अभियान नै चलाउने उनले बताइन् ।
आफ्नो बाल्यकालदेखि नै समाज सेवा र सामाजिक कार्यमा संलग्न नम्रताले समाजसेवालाई निरन्तरता दिन नै एनसीसीको महिला सचिव पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
सर्लाहीमा जन्मेकी नम्रता आफ्ना समाजसेवी बुवा नानीकाजी घलेको व्यवहारबाट प्रभावित भएर नै सामाजिक काममा अग्रसर भएकी हुन् । दुई दाजुकी एक्ली बहिनी नम्रता काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा सामाजिक कार्यक्रम सक्रिय रहन्थिन भने विपतमा परेका व्यक्ति, परिवार तथा समुदायको सहयोगका लागि आर्थिक संकलनमा पनि उत्तिकै लागिपर्थिन् । परिवार व्यापारमा संलग्न रहेकाले उनले आफ्नै परिवारका तर्फबाट पनि धनराशी सहयोग गर्ने गरेको बताइन् ।
सन् २०१० मा गोर्खाका अन्तिम गुरुङसँग विवाह भएपछि यूके आएकी नम्रतालाई सामाजिक काममा सहभागी हुन परिवारबाट पनि सहयोग मिलेको बताउँछिन् । उनका पति ब्रिटिश आर्मीमा रहेका छन् ।
‘समाजसेवा मेरो प्यासन हो, अब एनआरएनकै माध्यमबाट यसलाई अगाडि बढाउने चाहना छ,’ उनले भनिन् ।






