
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको नयाँ कार्यसमिति चयन गर्न मतदान जारी छ ।
सोमबार मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदान मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार ३१ जुलाई शनिबार नै निर्वाचन हुनुपर्ने भए पनि निर्वाचन समितिले प्राविधिक कारण जनाउँदै दुई दिन पर सारेको थियो ।
बेलायतमा बसोबास गर्ने नेपालीमध्ये पन्जीकृत सदस्यता लिएका ११ हजार ३ सय ६५ जना मतदानमा सहभागी हुनयोग्य छन् । पहिलोपटक अनलाइन प्रणालीमार्फत मतदान व्यवस्था गरिएकाले आम मतदातामाझ केही असजिलो र झन्झट महसुस भएको प्रतिक्रिया आएका छन् ।
सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् ।






