
लन्डन साउन २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले आफ्नो टिमले संयमित र जिम्मेवार बनेर कर्तव्यबाट विमुख नहुने कोसिस गरी काम गरेको बताएकी छन् ।
एनआरएनए यूकेको नवौँ कार्यसमितिको अध्यक्षका रुपमा आफ्नो २ वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा मंगलबार आभार सन्देश लेख्दै निवर्तमान अध्यक्ष गुरुङले चुनौती र अवरोधबीच मुद्दाहरुको प्राथमिकताका साथ काम गरेको बताएकी हुन् । उनले लेखेकी छन्, ‘चुनौति र अवरोधहरु नभएका होइनन्, तर पनि हामीले संयमित र जिम्मेवार बनेर आफ्नो कर्तव्यबाट विमुख नहुने कोसिस गरेका छौं ।’
‘हामीले कस्तो काम गर्न सक्यौँ भन्ने मुल्यांकन त हजुरहरुले गर्नुभएकै होला । बेलायतवासी आम नेपालीहरुका चासो र सरोकार रहेका नेपाली नागरिकतादेखि भूतपूर्व गोर्खा, महिला, युवा सबैका मुद्धाहरुलाई हामीले आफ्नो प्राथमिकतामा राखेर काम गर्ने कोसिस गरेका छौं,’ निवर्तमान अध्यक्ष गुरुङको आभार पत्रमा लेखिएको छ ।
हार्दिक आभार :
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नवौँ कार्यसमितिको अध्यक्षका रुपमा मेरो करिब २ वर्ष लामो कार्यकाल पूरा भएको छ । यस अवधिमा बेलायतस्थित एनआरएनए अभियन्ताहरु, समाजका अग्रज, संघसंस्थासहित सिंगो नेपाली समुदायबाट प्राप्त न्यानो माया, सद्भाव र सहयोगका लागि हजुरहरुप्रति मेरो अन्तरमनदेखिकै सम्मान र कृतज्ञता प्रकट गर्न चाहन्छु ।
हामीले कस्तो काम गर्न सक्यौँ भन्ने मुल्यांकन त हजुरहरुले गर्नुभएकै होला । बेलायतवासी आम नेपालीहरुका चासो र सरोकार रहेका नेपाली नागरिकतादेखि भूतपूर्व गोर्खा, महिला, युवा सबैका मुद्धाहरुलाई हामीले आफ्नो प्राथमिकतामा राखेर काम गर्ने कोशिस् गरेका छौं ।
कोभिड महामारीका कारण सारा विश्व नै आक्रान्त बन्दै गरेका बेला बेलायतमै समस्यामा परेका हाम्रा नेपाली बाबुआमा, विधार्थी भाइबहिनीहरुलाई राहत सहयोग बांड्यौं, लकडाउनका कारण अलपत्र पर्नुभएका नेपालीहरुलाई दुतावास लण्डन संग सहकार्य गरी चार्टर विमानबाट स्वदेश फर्काउन पहल गर्यौं । यहाँका नेपाली डाक्टर, नर्सहरुको सहयोगमा हेल्प डेस्क नै राखेर निरन्तर र निशुल्क परामर्श दिलायौँ । नेपालमा पहिलो चरणमा हरेक प्रदेशमा अक्सिजन मेसिन पठायौं, पछि लन्डन दूतावास र सम्पूर्ण नेपाली संघसंस्थाको सहयोगमा १५० अक्सिजन कन्सन्टेटरहरु सहयोग गर्न सक्यौँ र इतिहासीक मै पहिलो पटक छोटो समयमै वढि रकम संकलन गरी आक्शिजन फ्लान मा हाम्रो पहल छ ।
बेलायती जनगणनामा नेपालीहरुको सहभागिता बढाउन, नेपाली भूमि अतिक्रमणविरुद्ध सम्बन्धित निकायसम्मै आवाज बुलन्द बनाउन, नेपाल र बेलायतबीचको आर्थिक एवम् मैत्रीपूर्ण सम्बन्धलाई प्रवर्द्धन गर्न हामीले आफ्ना अभियान र कार्यक्रमहरु निरन्तर चलायौं ।
चुनौति र अवरोधहरु नभएका होइनन्, तर पनि हामीले संयमित र जिम्मेवार बनेर आफ्नो कर्तव्यबाट विमुख नहुने कोशिश् गरेका छौं ।
विगत दुई वर्षसम्म मेरो नेतृत्वको एनआरएनए यूकेलाई प्रत्यक्ष- अप्रत्यक्ष साथ, सहयोग र हौसला प्रदान गर्नुहुने एनआरएनए यूकेका संरक्षकहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु, आइसीसीका पदाधिकारीहरु, एनआरएनए अभियन्ता एवम् अग्रजहरु, संघसंस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी, पत्रकार, महिला, युवासहित तपाईं सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
हाम्रो कार्यकाल सफल पार्न दिनरात खट्नुहुने कार्यसमिति तथा चार वटै राज्य परिषदका सबै साथीहरु पनि धन्यवादको हकदार हुनुहुन्छ । लन्डनस्थित नेपाली दूतावास र महामहिमज्यूहरुबाट प्राप्त सहयोग र सहकार्यको अवसरका लागि पनि म धेरै कृतज्ञ छु । त्यस्तै, समाजका लागि केही गर्छु भन्ने मेरो हुट्हुटीलाई कुनै रोकतोकबिना सधैं प्रोत्साहन गर्नुहुने मेरो श्रीमान र दुई छोरीहरुसंगै मलाई हरेक हिसाबले साथ, सहयोग दिनुहुने आफन्त र इष्टमित्रहरुप्रति पनि विशेष धन्यवाद भन्न चाहन्छु ।
अन्त्यमा, प्रेम गाहामगरज्यूको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई एवम् पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । साथै दशौं अधिवेशन सफलतापूर्वक् सम्पन्न गर्न योगदान गर्नुहुने निर्वाचन समितिका आयुक्तज्यूहरु, केन्द्रीय पर्यवेक्षकज्यू, सबै उम्मेदवार साथीहरुसहित अधिवेशनमा भाग लिनुहुने सबै सदस्यज्यूहरुमा पनि हार्दिक धन्यवाद ।
हजुरहरुकै,
पुनम गुरुङ
निवर्तमान अध्यक्ष
एनआरएनए यूके
१० अगस्ट २०२१, लन्डन ।






