लण्डन भदौ ७ ।

बेलायतमा नेपाली संस्कृति,भेषभुषा,भाषा र कला झल्काउने ‘तमुधी नेपाली मेला’ हुने भएको छ ।
कोभिड संक्रमणका कारण अघिल्लो वर्ष रोकिएको यो मेला आगामी अगस्ट २९ तारिकका दिन आयोजना हुने भएको हो । मेला लण्डनको केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको छ । आइतबार लण्डनस्थित मिचेटमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक तमुधी संघ यूकेले मेलाको तयारी लगभग पूरा भैसकेको जानकारी दिएको छ ।
नेपाली राजदुतावासको सहकार्यमा हुने यो मेलाको मुख्य नारा ‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ रहेको छ । यो मेलामा करिब ३१ हजार पाउन्ड खर्च गरिने संस्थाका संयोजक हरि गुरुङले बताए । नेपालीपन झल्काउने नृत्य देखाउन र स्टलहरू राख्नका लागि २० वटा संघसंस्थाहरूले भाग लिसकेको बताइएको छ ।
अघिल्लो वर्षहरुमा यो मेला हेर्न ८/९ हजार आगन्तुक भेला हुने गरेपनि । यो वर्ष संक्रमणको जोखिमका कारण ३ हजार आगन्तुकको सहभागिता हुने अनुमान गरिएको छ । कोरोना संक्रमणबाट बच्न मास्क र सेनिटाइजर प्रयोग गर्न र कोरोना परिक्षण गरेर मात्रै मेलामा आउन संस्थाका प्रतिनिधिले अनुरोध गरेका छन् ।
विदेशी भूमिमा बसेर नेपालमा पनि नदेखिएका वस्तुहरु अवलोकन गर्न पाइने भएकाले यो मेला नछुटाउन संस्थाका अध्यक्ष हितकाजी गुरुङले नेपालीवासीहरूलाई अनुरोध गरेका छन् । मेलामा तमुधी आमा समुहले साडीको स्टल राख्ने र उठेको रकम नेपालको पवित्र बृद्दाआश्रमलाई दान गर्ने जानकारी दिएको छ ।
मेलामा आयोजना हुने झांकी र नृत्यमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ ।
प्रथम हुनेलाई अतिरिक्त तीन सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई पाँच सय पाउण्ड नगद प्रदान गरिनेछ ।
त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई पाँच सय पाउण्ड र दोश्रो हुनेलाई तीन सय पाउण्ड र नृत्यमा प्रथम हुनेलाई पाँच सय पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिने जानकारी दिएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष ज्ञाम गुरुङले सानो ठाउँबाट सुरु गरेको यो मेला दिगो प्रभावकारी बनाउन सुझाव दिएका छन् ।






