बेलायतमा १२ औं संस्करणको नेपाली मेलाको भव्य रुपमा उद्घाटन

SHARE:

लन्डन भदौ १३ । तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा गरेको १२ औं संस्करणको नेपाली मेलाको भव्य रुपमा उद्घाटन गरिएको छ ।

आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए । आगामी वर्षहरुमा नेपाली मेला कार्यक्रमलाई परिस्कृत गरेर लैजाने, नेपाल र बेलायत दुई देशबीचको व्यापार प्रवर्द्धन भव्य बनाएर लैजानेमा तमुधिं यूके र दूतावासले अठोट लिएको उनले जानकारी दिए ।

उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे । आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले तमुधिं यूकेको मात्र मेला होइन सबै नेपाली मेला हो भनेर नेपाली दूतावास लन्डनले सहयोग दिइरहेकोमा खुसी व्यक्त गर्दै आफूहरु ऋणी रहेको बताए ।

उनले मेलामा सहभागी संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न झाँकी प्रदर्शनमा सहभागी संघ संस्था सबैलाई धन्यवाद दिए भने झाँकी प्रस्तुत गर्नेहरुलाई मेहनतको आधारमा तमु धिंले पुरस्कारको समेत व्यवस्था गरेको जानकारी गराए । यस्तै पुरस्कार प्रायोजन गर्ने व्यक्ति तथा संस्थालाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्‍चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गरेका हुन् । सम्पादक गुरुङलाई तमुधिंका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!