लण्डन भदौ २२ ।

भुतपुर्व गोरखाहरुको समस्या समाधानका लागि आमरण अनसन बसेका गोरखाहरुसंगको सहमति अनुसार नेपाली दुताबास लण्डनमा त्रिपक्षीय बैठक हुने भएको छ ।
बेलायती समयअनुसार भोली बिहान ९ देखि १० बजेसम्म हुने सो बैठकमा बेलायत सरकारका रक्षा मन्त्री बेन बालेस, रक्षा राज्यमन्त्री लियो डोकोर्टी सहभागी हुनेछन् भने नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी हुनेछन् । यस्तै गोरखाहरुका तर्फबाट आमरण अनसन बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेलाई पनि आमन्त्रण गरिएको छ ।
यस्तै गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, गोरखा भूतपूर्व सैनिक संघ गेसो, ब्रिटिश गोरखा वेलफेयर सोसाइटी बीजीडब्ल्यूएस लगायतका संस्थाहरुका अध्यक्षलाई बोलाइएको छ । सबै गोरखा संस्थाहरुलाई बोलाइए पनि बैठकमा भने गोरखा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले मात्र गोरखाहरुका तर्फबाट मन्तव्य राख्नेछन् ।
यसैगरी बैठकमा राजदुत रेग्मी, रक्षा मन्त्री बालेस र रक्षा राज्यमन्त्री डोकोर्टीले पनि बोल्नेछन् । यो बैठक आगामी डिसेम्बरदेखि हुने वार्ताको तयारीका लागि बोलाइएको बताइएको छ ।






