लण्डन भदौ ३० ।

बेलायतमा कोरोनाविरुद्धको तेस्रो डोज खोप वितरण गरिने भएको छ ।
लामो समयको प्रतीक्षापछि अर्को साताबाट प्रथामिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् । कम्तिमा तीन करोड बेलायती नागरिकलाई बुस्टर डोज दिने तयारी भएको पनि उनले बताए । शुरुमा ५० वर्ष उमेर पुगेका, शारीरिक अवस्था कमजोर भएका १६ देखि ४९ वर्ष उमेरका तथा अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी हेल्थ एण्ड केयर वर्कर्स लाई उक्त खोप वितरण गरिने अधिकारीहरुले जनाएका छन् ।
यसअघि जुनसुकै खोप लगाइएको भएपनि बुस्टर डोजको रुपमा फाइजर खोपलाई मुख्य प्राथामिकतामा राखिएको छ । तेस्रो अर्थात बुस्टर डोजको खोप लगाउन दोस्रो डोज लगाएको छ महिना पुगेको हुनुपर्नेछ । ५० वर्ष भन्दा कम उमेरका स्वस्थ व्यक्तिलाई भने बुस्टर डोज लगाउने सम्बन्धमा कुनै निर्णय भएको छैन् । जोइन्ट कमिटी अन भ्याक्सिनेशन एण्ड इम्युनाइजेशन जेसीभीआइले बुस्टर खोप वितरण गर्ने सल्लाह दिएपछि बेलायत सरकारले तत्कालै खोप वितरण तयारी थालेको हो ।
आगामी साताबाट शुरु गरिने बुस्टर डोज आउंदो क्रिसमससम्ममा पूरा गर्ने सरकारको लक्ष्य छ । कोरोनाविरुद्धको खोपका साथै फ्लू ज्याब पनि लगाउन सकिने जेसीभीआइ र एमएचआरएले जनाएका छन् ।






