लण्डन असोज ८ ।

बेलायत निवासी समाजसेवी तथा उद्यमी एवम् पूर्वगोर्खा सैनिक धनबहादुर सार्कीले नेपालका विभिन्न जिल्लामा राहत सामग्री सहयोग गरेका छन् ।
बेलायतका विभिन्न संघसंस्थामा कुशल नेतृत्व प्रदान गरेका एक सक्षम र प्रगतिशिल व्यक्तित्वको छवि बनाएका सार्कीले आफ्नो समाजसेवाको अभियानको क्रममा नेपालका विभिन्न क्षेत्रमा पुगेर यतिबेला आफूले बालउमेर बिताएको गाउँ पार्वतीपुरमा ‘शुद्ध पानी वितरण अभियान’ थालेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं.२१ मा पर्ने उक्त गाँउमा खानेपानीको समस्या समाधान गर्नको निम्ती उनले अभियान शुरू गरेको बताए ।
त्यस क्षेत्रमा गरिब र दलितमात्रै होइनन्, सयौँ परिवार सुकुम्बासी समेत छन् । पानीकै अभावको कारण यस क्षेत्रका मानिसहरुको स्वास्थ्य जीवनशैली नराम्रोसँग प्रभावित भएको भन्दै उनले पानी अभियान चालेको बताए । धनबहादुरले पार्वतीपुरका १० घर परिवारलाई घर–घरमा धारा जोडिदिएका छन् । रंगिलाका शंकर नेपाली, पार्वतीपुरका मञ्जु नेपाली, सोमबहादुर सार्की, हेम भट्ट, राममाया विक, मंगलबहादुर विक, रतनपुरका माया सार्की, पारिलोटारका लुरे विक, सितापुरका सुकबहादुर विक र कञ्चनबस्तीका मनोज भुजेलको घरमा धारा जडान गरिदिएका छन् । उनले अब करिब तीन सय परिवारलाई लक्षित गरी शुद्ध पानी वितरण अभियान चलाउने बताए ।
सो वडाका कार्यवाहक अध्यक्ष कृष्णकुमार गुरुङले पनि सार्कीले गरेको समाजसेवाको यात्रालाई सम्मान व्यक्त गर्दे आभार व्यक्त गरे । आफूहरुले वडाका समस्या समाधान गर्ने काममा धनबहादुरले दिएको साथप्रति सधैं कृतज्ञ रहने उनको भनाई छ । पार्वतीपुरमै रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा पनि उनले अक्षयकोष स्थापना गरिदिएका छन् । समाजसेवी सार्कीले आफूले १० परिवारलाई घरमा धारा जडान गरिदिएको भन्दै बाँकी सबै परिवारका लागि हुने गरी सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।
आफूले एसएलसी उत्तीर्ण गरेको विद्यालयमा उनले कोषमा दुई लाख १० हजार रुपैयाँ जम्मा गरेर कोषको सुरुवात गरेका छन् । विद्यालयमा अतिविपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन उक्त रकम खर्च हुने विद्यालयले जनाएको छ । सार्कीले पावतीपुरकै अर्को विद्यालय श्रीआधारभूत विद्यालयमा पनि खेलकुद सामाग्री खरिद र सञ्चालनकालागि रु ५०,००० सहयोग गरेका छन् ।






