लन्डन सेप्टेम्बर ३० । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी बेलायतमा ब्रान्ड बनाउन शुरू गरिएको छ । बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ सुरू गरेका हुन् ।
रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उद्घाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले बताएका छन् । उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।
तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ । कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले जानकारी दिए । उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् ।






