राजदूत रेग्मीले भने: भूपू गोर्खाहरूको माग सन् २०२२ अप्रिल भित्र पुरा हुन्छ

SHARE:

लण्डन असोज २४ ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले समान पेन्सन लगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरूको माग सन् २०२२ अप्रिल भित्र पुरा हुनुपर्ने बताएका छन् ।

शुक्रबार सांझ लण्डनस्थित नेपाली दूतावासमा नेपाल पत्रकार महासंघ यूके शाखाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा रेग्मीले उक्त कुरा बताएका हुन् । लामो समयदेखि बल्झिएर रहेको भूपू गोर्खाहरूको समस्या फेरि नदोहोरिने गरि अन्तिम रूप दिने प्रयास गर्दैगर्दा नेपाल सरकारको निर्णय अनुसार आफू नेपाल फर्किनुपरेको बताउंदै अब आउने राजदूतले यसलाई विशेष महत्व 
दिनुपर्ने बताए ।

राजदूत रेग्मी गत २१ सेप्टेम्बर नेपाल सरकार मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाएपछि यही अक्टुबर २४ मा नेपाल फर्कन लागेका हुन् । नेपाल फर्किए पनि अप्रत्यक्ष रूपमा आफ्नो सहयोग रहिरहने र भविष्यमा आउने राजदूतलाई समेत आफूले गोर्खा मुद्दाको बारेमा अवगत गराउने उनले बताए । दुवै देशको हित हुने गरी भूपू गोर्खाका आधारभूत मागहरू पेन्सन, क्षतिपूर्ति, कल्याणकारी,स्वास्थ्य लगायतका विषयमा बेलायत सरकार सकारात्मक रहेकोले यसपटक हुन् गइरहेको वार्ता सफल हुनेमा आफू विश्वस्त रहेको पनि रेग्मीले बताए ।

१७ दिनको रिले अनसन र १३ दिन भोक हडतालपछि बेलायत सरकार वार्तामा बस्न तयार भएको छ र यस विषयमा बेलायत तथा नेपालका सरकार र गोर्खा प्रतिनिधिहरूबीच प्रारम्भिक छलफलले आउँदो डिसेम्बर १४ मा वार्ता सुरु गर्न मितिसमेत तय भइसकेको छ । यो मुद्दा सफल भए नेपाली दूतावासका लागि पनि गौरवको विषय हुने र शिखर चढ्नको लागि आफूले सुरुको खुड्किलो स्थापित गरिसकेकाले अब अघि बढ्न सहज हुने रेग्मीले बताए ।
आमरण अनसनमा बसेका गोर्खालाई वार्ताको टेबलसम्म पुरयाउने वातावरण मिलाउन उनको ठुलो भूमिका रहेको आन्दोलनमा संलग्न धेरैको बुझाइ छ । नेपाल र नेपाली समुदायसँग ज्यादै निकट रहेका बेलायती सांसद वीरेन्द्र शर्माले गोर्खा मुद्दा र खोप सवालमा राजदूत लोक दर्शन रेग्मीको कूटनीतिक क्षमताको खुलेर प्रशंसा गरेका थिए । भूपू गोर्खाहरूद्वारा पनि राजदूत फिर्ता हुनुले अन्तिम अवस्थामा पुगेको वार्तालाई असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ यूके शाखाको ध्रुवराज अर्याल नेतृत्वको पाँचौँ कार्यसमितिका पदाधिकारीहरूलाई सम्बोधन गर्दै मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरूबारे पनि समाचारहरू बन्नुपर्ने बताए । ‘बेलायतमा रहेका पत्रकार साथीहरूले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन सांच्चिकै सकारात्मक र तारिफयोग्य छ’ उनले भने । पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’ लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए ।

पत्रकार महासंघ यूकेका तर्फबाट राजदूत रेग्मी दम्पतीलाई बिदाइ गर्दै खादा र पुष्पगुच्छा प्रदान गरिएको थियो । चार वर्षका लागि नियुक्त भएका राजदूत रेग्मी नेपाल सरकारले पूर्ववर्ती सरकारका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदूतहरुलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर आफू भने राजनीतिक नियुक्ति अन्तर्गत बेलायतको राजदूत नभएको रेग्मीले प्रष्ट पारे । गृह र अर्थ मन्त्रालय जस्ता महत्त्वपूर्ण मन्त्रालयका सचिव सम्हालिसकेका रेग्मी राजदूत नियुक्त हुनु पूर्व नेपाल सरकारका मुख्यसचिव थिए । गत मार्च १ तारिखबाट रेग्मीले बेलायतका लागि नेपालका एक्काइसौं राजदूतका रूपमा कार्यभार सम्हालेका हुन् । विभिन्न सातवटा लक्ष्य लिएर बेलायतको राजदूतको लागि आफूले पहल गरेको रेग्मीले बताए ।

दुई देशबीचको ऐतिहासिक सम्बन्धमा दुवै पक्षलाई अत्यधिक हित हुने गरी नयाँ संस्करणमा लैजाने आफ्नो प्रमुख प्राथमिकता रहेको उनले बताए । नेपाल र बेलायतको सम्बन्धलाई हाम्रो गरिमामय इतिहासको जगमा समकालीन आवश्यकताको सम्बोधन हुने गरि थप उचाइमा पुरयाउने र विस्तार गर्ने, नेपाल र बेलायतबीच सिधा हवाई सेवा पुनः सञ्चालनमा ल्याउने, नेपालमा ऊर्जा उत्पादन, सडक निर्माण, कृषि र वनजन्य प्रशोधन उद्योगका लागि बेलायत सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय कोषका तर्फबाट नेपालमा लगानी बढाउने’ जस्ता विषयलाई आफूले प्राथमिकतामा राख्दै आएको पनि उनले बताए ।

नेपालको वित्तीय क्षमताको विश्वसनीयता बढाउन लण्डनमा भएका बैंक तथा वित्तीय संस्थाहरूको शाखा वा प्रतिनिधि कार्यालय नेपालमा राख्न आवश्यक रहेकोले यसतर्फ पनि आफूले पहल गरेको उनले बताए । आफू भियना कन्भेन्सन अन्तर्गत कूटनीतिक क्षेत्रमा काम गरेको राजदूत भएकाले इन्टरनेशनल कन्भेन्सनको पालना गर्दै सरकारको नीति निर्देशन अन्तर्गत रहेर नेपालको प्रतिनिधित्व हुने गरि नेपालीको हितका लागि काम गर्ने उद्देश्यले आफू राजदूत भएको पनि राजदूत रेग्मीले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!