लण्डन कात्तिक ५ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५२ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
नवौं दिनसम्म लगातार ४० हजार भन्दा माथि संक्रमित भएको र यो संख्या बिहीबार बढेर ५२ हजार नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ। बेलायती स्वास्स्थ्यमन्त्री साजिद जाविदले बुधबार दैनिक संक्रमित संख्या एक लाखसम्म पुग्न सक्ने बताएका थिए । नयाँ संक्रमितसंगै बेलायतमा हालसम्म संक्रमित हुनेको संख्या ८६ लाख ४१ हजार पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा ११५ जनाको ज्यान गएको छ । पछिल्लो एकसातामा बेलायतमा ९१२ जना संक्रमितको ज्यान गएको छ । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३९ हजार १४६ पुगेको छ । गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या १५।४ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९५९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ८ हजार १४२ पुगेको छ । यस्तै ८७२ जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म ९ करोड ५० लाख भन्दा बढी डोज कोरोनाविरुद्ध खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९५ लाख ५४ हजार ४०७ जना अर्थात ८६।२ प्रतिशतले खोपको पहिलो र ४ करोड ५४ लाख ६० हजार १२२ जना अर्थात ७९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।
यसैगरी ५० वर्षमाथि उमेरका र अग्रस्थानमा खट्ने व्यक्तिहरुलाई खोपको तेस्रो अर्थात बुष्टर डोज दिइएको छ । दोस्रो डोज लागेको ६ महिना पुगेकाहरुलाईमात्र बुष्टर डोजको लागि योग्य मानिन्छ । पछिल्लो समय सरकारले बुष्टर डोज वितरणलाई विशेष प्राथामिकताकासाथ अघि बढाएको छ । साथै १२ देखि १५ वर्ष पुगेकालाई पनि खोपको पहिलो डोज लगाउन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गरेका छन् ।
खोप सप्लाईमा पनि कुनै कमी नभएको र पर्याप्त मात्रामा खोप रहेको प्रधानमन्त्रीले बताएका छन् ।






