
लन्डन नोभेम्बर १५ । गैरआवासीय नेपाली संघ (एनआरएन यूके) ले गैरआवासीय नेपाली अभियान र प्रवासी नेपालीहरुको हकहितमा सक्रिय १० जना प्रबुद्ध व्यक्तित्वहरुलाई प्रमुख सल्लाहकारमा मनोनीत गरेको छ ।
एनसीसी यूकेले डा. राघव धिताल, क्याप्टेन बिर थापा, सोलिसिटर राजु थापा वरिष्ठ पत्रकारद्वय भगिरथ योगी तथा विजय थापा, डा. पदम सिम्खडा, वरिष्ठ समाजसेवीहरु शान्ति थापा कुँवर, आरती श्रेष्ठ, नन्दकुमारी गुरुङ तथा ध्रुव केसीलाई प्रमुख सल्लाहकारमा मनोनित गरिएको हो ।
त्यसैगरी, विभिन्न पेशा र व्यवसायमा ख्यातिप्राप्त व्यक्तित्वहरुलाई पनि विषयगत सल्लाहकारमा मनोनयन गरिएको छ । बेलायतमा रहेर नेपाल र नेपाली समुदायको इज्जत बढाउन सक्रिय विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पनि गैर आवासीय नेपाली अभियानमा सहभागी गराउने उद्देश्यअनुसार नै सल्लाहकार तथा विभिन्न विभागहरुमा मनोनयन गर्न लागिएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।
उनका अनुसार ब्रिटिस गोर्खा सेनामा कार्यरत, भूतपूर्व गोर्खाज संगठन, भूतपूर्व गोर्खा सैनिकहरु, वरिष्ठ सामाजिक अभियन्ताहरु, बेलायतका काउन्सिलरहरु, स्वास्थ्य विभागअन्तर्गतका नेपाली चिकित्सकहरु, नर्सहरु, लेखा विज्ञहरु, इन्जिनियरहरु, अपांगता भएका व्यक्तिहरु, कानुन विज्ञहरु, पाक कलाका विज्ञहरु, प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरु, राजनीतिक दलका अगुवाहरु, युवाहरु, सन्चारकर्मीहरु, खेल क्षेत्रका अगुवाहरु, एनसीसी यूकेका चार वटै राज्य समन्वय परिषद् तथा मानसिक स्वास्थ्यका विज्ञलगायतका क्षेत्रबाट सल्लाहकार मनोनयन गरिएको छ ।






