लण्डन कात्तिक २९ ।

युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरुको सम्झनामा आयोजित समारोह रिमेम्बरेन्स सन्डेमा बेलायतमा बसोवास गर्ने नेपालीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बेलायतका विभिन्न शहरमा आयोजित छुट्टाछुट्टै समारोहमा भूपू गोर्खा, तिनका परिवार र अन्य नेपाली सहभागी भएर रिथ चढाए । सेन्ट्रल लन्डनको ह्वाइटहलस्थित सिनोतापदेखि नेपाली उल्लेख्य बसोवास रहेको अल्डरसटमा पनि नेपालीले वीर योद्धालाई स्मरण गरे । सिनोतापमा लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले पनि रिथ चढाएकी छन् ।
उता, ग्रेटर रसमोर नेपाली कम्युनिटीले अल्डरसटमा रिमेम्बरेन्स सन्डे मनाएको छ । सो अवसरमा जीआरएनसी कमिटी सदस्यहरु, भूतपूर्व गोर्खा, आमा समूह, अन्य नेपालीहरु तथा स्थानीय अन्य समुदायको वृहत उपस्थिति थियो । उक्त कार्यक्रमको संयोजन कम्युनिटीका उपाध्यक्ष उत्तर बहादुर गुरुङले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष मान गुरुङले युद्धमा वीरगति प्राप्त सैनिकहरुको स्मरणमा नेपाली र अंग्रेजीमा ‘कोहीमा इपिताह’ पढेपछि कार्यक्रम संयोजकले दुई मिनेट मौनधारण गराएका थिए । त्यस लगत्तै अध्यक्ष गुरुङले संस्थाको तर्फबाट रिथ ९फूलमाला० चढाए भने कार्यक्रम संयोजकले बेलायती रक्षा राज्यमन्त्री सांसद लियो डोचेर्टीको रिथ चढाएका थिए । लगत्तै एयर बोर्न राइफल्स् तथा प्यारासुट रेजिमेन्टको स्ट्याचूमा पनि अध्यक्ष गुरुङले रिथ चढाए ।






