लन्डन डिसेम्बर १ । ईलमपोखरी समाज यूकेको १२ औं वार्षिक साधारणसभा भव्य र सभ्य तवरले सम्पन्न भएको छ ।
समाजका अध्यक्ष परशु गुरुङको सभापतित्वमा गत आइतबार नोभेम्बर २८ तारिख २०२१ को अपराहन्न अल्डरसटस्थित एम्पायर हलमा उक्त साधारणसभा सम्पन्न भएको हो । साधारणसभा अध्यक्ष परशु गुरुङ र निवर्तमान अध्यक्ष पूर्णराज गुरुङले दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।
उपाध्यक्ष गम गुरुङको स्वागत मन्तव्य पश्चात निवर्तमान अध्यक्ष पूर्णराज गुरुङ र सल्लाहकारहरु दल गुरुङ, रुद्रराज गुरुङ, जुना गुरुङ, तारा गुरुङ र लमजुङ समाज आमा समूहकी अध्यक्ष लक्ष्मी गुरुङले शुभकामना सन्देश दिएका थिए ।
संस्थापक अध्यक्ष मोहनसिंह गुरुङ आफ्नो कामविशेषले नेपाल गएकोले उनले वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न होस् भन्दै शुभकामना सन्देश पठाएका थिए ।
समाजको केही कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरु यस वर्ष विभिन्न संघ संस्थामा मनोनीत तथा पदोन्नती भएका सबै जनालाई अध्यक्ष र निवर्तमान अध्यक्षबाट खादा लगाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा तमुधिं यूकेका उपाध्यक्ष तुलाराम गुरुङ, कार्यसमिति सदस्य मोतीप्रसाद गुरुङ, तमुधिं यूकेका आमा समूहका उपाध्यक्ष मनिता गुरुङ, कार्यसमितिका सदस्य रूपा गुरुङ, रेडिंग तमु समाज यूकेको अध्यक्ष रुद्रराज गुरुङ, कार्यसमितिका सदस्य दुर्गा गुरुङ र आमा समूहका सदस्य अमृता गुरुङ थिए ।
अध्यक्ष गुरुङबाट बैठकको महत्त्व र एजेण्डा प्रस्तुत भएपछि सचिवबाट वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष बुद्धिराम गुरुङबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । बैठकमा विविध बुँदाहरुको बारेमा विस्तृत छलफल गरी निर्णय भएको थियो । अन्तमा अध्यक्ष परशु गुरुङले उपस्थित भएका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै करिब ६:३० बजे बैठक समापन गरेका थिए ।






