प्रवासमा रहेका नेपालीका लागि नागरिकतबारे चासोको विषय बनेको छ । गैरआवासीय नागरिकतासम्वन्धी विधेयक संसदमा पेश भएपछि त्यसबारे निकै चासो बढेको हो । यो सबैको सरोकारको विषय पनि हो । नागरिकता नै अहिलेसम्म सरकारले दिने आधिकारिक परिचयपत्र हो । त्यसैले पनि हरेक नागरिकले नागरिकताबारे चासो राख्नु स्वभाविक नै हो ।
अहिले गैरआवासीय नेपाली संघ (एनआरएन)ले पनि नागरिकताका सम्वन्धमा आफ्नो धारणा अघि सारेका छ । एनआरएनले आफुहरुलाई पहिचान खुलाएर नागरिकता माग गरेको छ । राजनीकि अधिकारसहितको नागरिकता माग गरेपनि अहिले आर्थिक तथा सामाजिक अधिकार मात्र रहेको नागरिकता दिने विधेयकमा व्यस्था गरेको छ । यो व्यवस्थाले कतिपय प्रवासी भने खुशी हुन सकेको छैन ।
यसै सन्दर्भमा गोर्खा भूतपूर्व सैनिकहरुले पनि व्यापक रुपमा नागरिकता सम्वन्धमा चासो राखेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरुलाई गैरआवासीय नागरिकताको वर्गमा नराख्न समेत माग गर्दै आएको छ । उनीहरुले आफूहरु नेपाल बाहिर बेलायत, हङकङ लगायत मुलुकमा बसोबास गरिरहेपनि गैरआवासीय नेपाली भने नभएको बताउँदै आएको छ । उनीहरुले आफूहरु वंशजकै आधारमा नेपाली नागरिकता पाउनुपर्ने अर्थात नागरिकता निरन्तरता हुनुपर्ने बताउँदै आएका छन् ।
गोर्खा सैनिकहरु त्रिपक्षीय सम्झौताका आधारमा भर्ती भएको भन्दै नागरिकता निरन्तरता हुनुपर्ने माग उठाउँदै आएका हुन् । नागरिकताको निरन्तरताको माग यसअघि पनि गोर्खाहरुले उठाउँदै आएका हुन् । तर, गैरआवासीय नेपाली संघले भने गोर्खा र प्रवासमा बस्ने सबै नेपाली एउटै नेपाली भएको भन्दै समान हैसियत दिनुपर्ने बताउँदै गर्दा उनीहरुबीचमा विवाद पनि कायम नै छ । त्यसैले पनि यो विषयमा सरकारले गम्भीर रुपमा ध्यान दिनुपर्छ ।
सबै नेपाली एउटै भएको तथ्य स्पष्ट भएपनि गोर्खा सैनिकको हैसियत भने फरक पक्कै पनि हो । गोर्खा सैनिकहरु अध्ययन र व्यापार व्यवसायको सिलसिलामा बेलायत वा हङकङ बसोबास गरेका होइनन् । गोर्खा सैनिकहरु सैनिक सेवामा रहेका आधारमा आवासीय सुविधा पाएका हुन् । त्यसैले पनि अन्य पेशा व्यवासायका लागि बसोबास गर्ने नेपाली र गोर्खा सैनिकहरुलाई दिने अधिकार फरक विषय पक्कै पनि हो । त्यसैले पनि गैरआवासीय नेपालीलाई दिने नागरिकता गोर्खा सैनिकलाई दिँदा गोर्खा सैनिकमाथि अर्को अन्याय हुन जान्छ । त्यसैले पनि गोर्खा सैनिकहरुलाई वंशजकै आधारमा नागरिकता निरन्तरता दिनुपर्ने हुन्छ । त्यसका लागि नेपाल सरकार स्पष्ट हुन जरुरी छ ।
आफ्ना नागरिकलाई विदेशी भूमिमा अर्काको अधिकारका लागि लड्न पठाएर नेपालले के पाए ? त्यो अर्को छलफलको विषय हो । तर, नेपाली युवालाई युद्धको मोर्चामा पठाएर अहिले उनीहरुलाई गैरआवासीय नेपालीको कोटामा राखेर व्यवहार गर्नु उपयुक्त हुन सक्दैन । त्यसैले पनि गोर्खाहरुको नागरिकता निरन्तरता अहिलेको आवश्यकता हो, गोर्खाहरुको अधिकार हो ।






