किरण गिरि
गत आइतबार साँझ राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा रास्ट्रवादीबीच पार्टी एकताको सहमति मस्यौदालाई अन्तिम रुप दिने तयारी पर्याप्त गृहकार्यका लागि केहीदिन स्थगित भएको छ । यो समाचारले पार्टी एकता चाहने आमकार्यकर्ताहरुमा संशय पैदा हुनु स्वाभाविक हो ।
यस पटकको एकतामा तीनवटै अध्यक्षहरु जिम्मेवारीबोधका साथ लचिलो, इमान्दार र कार्यकर्ताको भावना र भविष्यप्रति जवाफदेहिताका साथ आफै सक्रिय भूमिकामा रहेको कारण पार्टी एकता सार्थक रुपमा सम्पन्न हुनेमा कुनै दिविधा देखिँदैन ।
पार्टी एकतालाई पारदर्शि र संस्थागत बनाउन राप्रपा प्रजातान्त्रिकले २०७५ वैशाख २५ र २६ गते बसेको बैठकले एकतासंबन्धी रणनीति र कार्यक्रम तर्जुमा गर्ने अधिकार पार्टी अध्यक्ष पशुपतिशमशेर जबरालाई दिएको थियो । हालै बसेको कार्यसंपादन समिती बैठकले पुन : अध्यक्ष राणालाई नै पार्टी एकता गर्ने अधिकार प्रदान गरेको थियो ।
एकता प्रक्रियालाई थप मजबुत र संथागत बनाउन राप्रपा प्रजातान्त्रिकको बैठक आगामी ३० गते अपराह्न बस्दै छ ।
आजै रिपोर्टर्स क्लबमा बोल्दै अध्यक्ष राणाले प्राय: सबै विषयमा सहमति भैसकेको केही प्राबिधिक कुरा मिलाउन २/४ दिन समय लाग्ने, तीनवटै पार्टी एक भएर नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न लगाउने उद्घोष गर्नुभएको छ । यसबाट पनि पार्टी एकता छिटोभन्दा छिटो हुने विश्वास गर्न सकिन्छ ।
उता राप्रपा अध्यक्ष श्री कमल थापाले २५ साझ्नै ट्विट गर्दै पार्टी एकता र वार्ताको ढोका खुल्ला रहेको उद्घोष गर्दै राप्रपाको बटमलाइन स्पस्ट पारिसक्नु भएको छ । जुन अत्यन्त स्वाभाविक र सान्दर्भिक देखिन्छ ।
ए. राप्रपा रास्ट्रवादीका अध्यक्ष श्री डा.प्रकाशचन्द्र लोहनीले कार्यसंपादन समितीको बैठक र केही थप गृहकार्यको लागि केहिदिन लाग्ने बताउनुभएको छ । अध्यक्ष लोहनीले पनि पार्टी एकतालाई संथागत र पारदर्शी बनाउनका लागि जोड दिनुभएको छ ।
एकतापछि नेपालको संबिधान -२०७२ र संबैधानिक प्रक्रियासंग सहकार्य गर्दै एकता महाधिवेशनले पारित गरेको नीति, सिध्दान्त र कार्यदिशालाई बटमलाइन बनाउँदै राप्रपा अगाडि बढ्न खोजेको देखिन्छ । मुलुकमा एउटा सशक्त बैकल्पिक प्रजातान्त्रिक निर्माण हुने छ । जसले देशको राजनीति लाई संतुलन प्रदान गर्ने छ ।
राप्रपा, राप्रपा प्रजातान्त्रिक र ए. राप्रपा रास्ट्रवादी तीनवटै पार्टीका अध्यक्षहरुको भूमिका र अभिव्यक्तिहरु हेर्दा र पार्टी एकता प्रक्रियालाई नजिकबाट नियालिरहेको एउटा जिम्मेवार पदाधिकारीको नाताले पार्टी एकता उपलब्धिमूलक रुपमा तार्किक निष्कर्षमा पुग्नेमा म विश्वस्त छु । पार्टी एकता भाँडिएको पनि होइन, टरेको पनि होइन केबल केहीदिन सरेको मात्र हो भन्ने मेरो बुझाइ र विश्लेषण हो ।
यो यथार्थ धरातल र पृष्ठभूमिको अध्यन नै नगरी सामाजिक संजालहरुमा केही जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट नै नकारात्मक टिप्पणी एवं अभिव्यक्ति आउनु अपरिपक्वता भएको छ । सबैले आ-आफ्ना गल्ती र कमजोरीहरु सच्याउँदै आगामी दिनहरुमा परिपक्व र जिम्मेवार हुनु जरुरी छ ।
गिरि राप्रपा प्रजातान्त्रिकका सहायक प्रवक्ता हुन् ।