एटा संवाददाता
अल्डरसट । बेलायतवासी नेपालीहरुले नेकपाका वरिष्ठ नेता एवं नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अन्र्तक्रिया गरेका छन् ।
गत १८ नोभेम्बर २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठनको रुपमा बेलायतमा क्रियाशील प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशील मञ्च युकेले संयुक्त रुपमा नेता नेपालसँग अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्वप्रधानमन्त्री नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेकपाले खेलेको भूमिकाबारे बोल्दै नेपाल विकासतर्फ लम्किरहेका बताए । उनले तत्कालीन नेकपा एमाले २०५१ सालमा सबभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गरेको, आफ्नो गाउँ आफै बनाऔंजस्ता कार्यक्रम ल्याएको स्मरण गर्दै बीचमा पार्टी फुटेको, पुनः जुटेको र अहिले माओवादीसँग पार्टी एकीकरण भई करिब दुई तिहाईको सरकार बनेको बताए । उनले अहिलेको संविधानले गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गरेको बताउँदै भूतपूर्व गोर्खाहरुको अधिकारका बारे ब्रिटिस सरकारसँग दुईपक्षीय कुराकानी भइरहेको जनाए ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपालबाट आएका हास्य कलाकार मनोज गजुरेल र गायक हेमन मोक्तानलगायत नेपाली समुदाय बेलायतका अग्रजहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा राखेका थिए । उनले एकपटकको नेपाली सधैंको नेपाली हुने, आवश्यक भए संविधान संशोधन गर्न सकिने, संघीयतामार्फत सबैका सम्मान गरिने लगायत पार्टीका अवधारणाको बारेमा बोलेका थिए ।
प्रवासी नेपाली मञ्च युकेको उपाध्यक्ष रामजी बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युकेको उपाध्यक्ष ठाकुर गैरेले स्वागत मन्तव्य दिएका थिए भने प्रवासी नेपाली मञ्च युकेका महासचिव बिजयबिक्रम लिङ्देनले कार्यक्रम सञ्चालन गरेका थिए ।






