लन्डन । नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेले सहयोग अभियान सञ्चालन गरेको छ ।
‘नेपाल निड अस’ अभियानमार्फत तमु धीं यूकेले विपद्को यस कठिन घडीमा प्रभावित परिवारसँग एकताबद्ध हुन र सक्दो सहयोग गर्न शुक्रबार सार्वजनिक अपिल गरेको हो । अगस्ट २५ मा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
संस्थाले जारी गरेको अपिलमा ‘टु गेदर वि क्यान हेल्प’ भन्दै सानो सहयोगले पनि बाढीपीडित परिवारका लागि ठूलो राहत पुग्ने उल्लेख गरिएको छ। तमु धीं यूकेले सहयोग गर्न चाहनेहरूका लागि संस्थाको बैंक खातामार्फत रकम जम्मा गर्ने व्यवस्था गरेको छ। संस्थाको अपिलमा अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङलाई सम्पर्क गर्न सकिने जानकारीसमेत दिइएको छ।
तमु धीं यूकेले विपद्का बेला राहत तथा मानवीय सहयोगका विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। यसअघि तमु धीं यूकेले अगस्ट ३० मा आयोजना गरेको १७औँ नेपाली मेलाबाट बचत रकम, मेलाका क्रममा संकलित सहयोग तथा अन्य अभियानबाट रकमसहित बाढी तथा विपद्पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।






