पूर्ण गुरुङ
लन्डन । घान्द्रुक काम्चे कोने खलक यूकेको १५औँ वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वार्षिक भेटघाटको उद्घाटन संस्थापक अध्यक्ष गुणराज गुरुङ तथा ज्येष्ठ नागरिकद्वय गमप्रसाद गुरुङ र कुलबहादुर गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।
फानबोरोस्थित ग्रेन्ज स्कुलमा शनिबार ५ सेप्टेम्बरका दिन बेलायत भ्रमणमा रहेकी तिलगंगा आँखा अस्पताल काठमाडौँकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.रीता गुरुङको विशेष उपस्थितिमा उक्त भेटघाट सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै डा.गुरुङले भनिन्, ‘हामी सबैले पढ्नुपर्छ, नपढिकन हामी कहीं पनि पुग्न सक्दैनौं ।” उनले यूकेमा रहेका आफ्नै परिवारका नयाँ पुस्तालाई अध्ययन र सिकाइलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिइन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को विशेष कार्यक्रममा भाग लिई बेलायतको कार्यक्रममा समेत भाग लिन लन्डन आइपुगेकी डा. गुरुङले परिवारका सदस्यहरुसँग भेट्न पाउँदा अत्यन्त खुशी भएको सुनाइन् ।
खलकका फुपू–पुसाइँ, छोरी–ज्वाइँ, भान्जाभान्जीहरुलाई समेत आमन्त्रण गरिएको कार्यक्रममा विशेष अतिथि डा.रीता गुरुङका साथै लामा फाउन्डेसन नेपालका अध्यक्ष एवम् चलचित्रकर्मी लामा अमृत गुरुङ र नायिका रजनी गुरुङलाई विशेष सम्मान गरियो ।
यसैगरी उच्च शिक्षा हासिल गर्ने, विभिन्न पेसागत पदोन्नति पाएका, नयाँ व्यवसाय सुरु गरेका तथा वैवाहिक बन्धनमा बाँधिएका खलकका सदस्यहरूलाई खादा ओढाएर बधाई एवम् सम्मान व्यक्त गरिएको थियो ।
बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने सदस्यहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा हालै नेपालको भोटेकोशीमा आएको भिषण बाढीका कारण ज्यान गुमाएका विभिन्न व्यक्तिहरुका साथसाथै यस वर्ष स्वर्गारोहण भएका खलकका सदस्य र पितृहरूप्रति १०८ वटा दीप प्रज्वलन गरी १ मिनेट मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । विषम परिस्थितिका कारण यस वर्ष कुनै पनि सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएन । त्यसको साटो तम्बुला खेल सञ्चालन गर्दै एकअर्कामा सुख-दुख साटेका थिए ।
कार्यक्रममा खलकका अध्यक्ष क्याप्टेन चन्द्रबहादुर गुरुङ नेपालमा रहेकाले उपाध्यक्ष ज्ञान गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव कृष्ण गुरुङले कार्यक्रम संचालन गरेका थिए । घान्द्रुक काम्चे कोने खलक यूके सन् २०१२ मा स्थापना भएको हो ।









