एटा संवाददाता
केन्ट । गोर्खा जिल्ला गुरुङ समाज यूकेले विविध साँस्कृतिक कार्यक्रमका साथ तमुहरुको महान् पर्व ल्होछार मनाएको छ ।
गत २९ डिसेम्बर शनिबारका दिन फोक्स्टोनस्थित हाकिन्स कम्युनिटी सेन्टरमा ल्होछार कार्यक्रम भएको हो । एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालबाट आएकी लोकगायिका शिला गुरुङले विभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत् गरेकी थिइन् । उनको प्रस्तुतिमा सहभागी दर्शकहरुले नृत्य गरेका थिए । सो अवसरमा हातेमालो आमा समूह, एफसीए आमा समूह र केन्ट आमा समूहले गायिका गुरुङलाई नगद उपहार दिए । त्यस्तै, दिनेश गुरुङ र सिर्जना गुरुङले गुरुङ राष्ट्रिय गीत गाएका थिए । त्यस्तै, सुवास गुरुङ, पुष्पा गुरुङ, प्रभू गुरुङ, आस्मा, निलू, चिना, रिप्कीया, निकिता, अलिजा र अलिसाले विभिन्न चर्चित नेपाली गीतमा नृत्य प्रस्तुत् गरेका थिए ।
एनआरएनए यूकेका उपाध्यक्ष शेर सुनारले शुभकामना मन्तव्य प्रकट गरेको कार्यक्रममा ईलमपोखरी समाज यूकेका उपाध्यक्ष जीत गुरुङ, केन्ट गुरुङ सोसाईटीका उपाध्यक्ष सूर्य गुरुङ, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी र डा. मित्र परियारलगायतको विशेष उपस्थिति रहेको थियो । राफल ड्र समेत खेलाइएको कार्यक्रममा पहिलो ड्र विजेतालाई १ तोला सुन, दोस्रोलाई आधा तोला सुन र तेस्रोलाई सामसुङ्ग ट्याब्लेट पुरस्कार दिइएको थियो । गोर्खा जिल्ला गुरुङ समाज यूकेका केन्ट संयोजक क्या. शेरबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा केन्ट, फार्नबोरो र अल्डरसटका युवाहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । साँस्कृतिक कार्यक्रमलाई सुजित गुरुङ र जयशिला गुरुङले सञ्चालन गरेका थिए भने साँस्कृतिक सचिव सुक गुरुङले संयोजन गरेका थिए ।
त्यस्तै, कोषाध्यक्ष दिनेश गुरुङले टिकट तथा लाईफ मेम्बर व्यवस्थापन गरेका थिए भने थानेश्वर गुरुङ र कृष्ण गुरुङले बस व्यवस्थापन गरेका थिए । त्यस्तै, धर्मगुरु लामा काजी गुरुङले धार्मिक पूजापाठ, ग्रहशान्ति र रुपुसमेत लगाइदिएका थिए । गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिनप्रसाद गुरुङले स्वागत मन्तव्य र उपाध्यक्ष नैना गुरुङले धन्यवाद प्रकट गरेका थिए ।
खि ल्हो को बिदाइ र फो ल्होको स्वागत गर्दै एकअर्कामा ल्होछारको शुभकामना आदानप्रदान गरिएकोे ल्होछारको औपचारिक कार्यक्रमलाई समाजका महासचिव मान गुरुङले सञ्चालन गरेका थिए ।






