एनआरएनएले दशौँ राष्ट्रिय खेलकुदमा भाग लिने, खेलाडी छनोट प्रक्रिया अघि बढाइने

SHARE:

काठमाडौं । आगामी डिसेम्बर २ देखि १३ (२०८३ मङ्सिर १६ देखि २७) सम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहभागिता जनाउने भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको भर्चुअल बैठकले विदेशमा बसोबास गर्ने प्रतिभावान् नेपाली खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन खेलाडी छनोट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

बैठकले विदेशमा रहेका इच्छुक तथा दक्ष नेपाली खेलाडीबाट खुला आवेदन माग गर्ने निर्णय गरेको छ। प्राप्त आवेदनका आधारमा निष्पक्ष प्रक्रियाबाट उत्कृष्ट खेलाडी छनोट गरिने संघले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले तोकिएको समयभित्र आफ्नो खेलसम्बन्धी विवरण तथा आवश्यक प्रमाणसहित आवेदन दिनुपर्नेछ। छनोट भएका खेलाडीले एनआरएनएको झन्डामुनि विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

एनआरएनएले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै आएको छ। नेपालगञ्जमा सम्पन्न आठौँ संस्करणमा एनआरएनएले पौडी, मार्सल आर्ट्स, लनटेनिसलगायत खेलमा प्रतिस्पर्धा गरेको थियो।

पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा भने एनआरएनएको सहभागिता थप फराकिलो भएको थियो। सात प्रदेश, तीन विभागीय टोली—त्रिभुवन आर्मी क्लब, एपीएफ र नेपाल पुलिस क्लब—तथा एनआरएनए गरी ११ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कांस्यसहित कुल २६ पदक जितेको थियो। पदक सङ्ख्याका आधारमा एनआरएनए आठौँ स्थानमा रहेको थियो। एनआरएनएले लुम्बिनी र मधेस प्रदेशलाई पछि पारेको थियो भने स्वर्ण पदक सङ्ख्यामा प्रदेश १ र सुदूरपश्चिम प्रदेशसँग बराबरी गरेको थियो।

उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण, ११० रजत र ८९ कांस्य गरी कुल ३७१ पदक जित्दै च्याम्पियन बनेको थियो। एपीएफ दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भएका थिए। आयोजक कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कांस्य गरी कुल १८ पदक जितेको थियो।

दशौँ राष्ट्रिय खेलकुदका लागि एनआरएनएले नवौँ संस्करणको उपलब्धिलाई आधार बनाउँदै थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको जनाएको छ। सुर्खेतमा हुने प्रतियोगिताले कर्णाली प्रदेशको खेलकुद विकाससँगै पर्यटन तथा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!