लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेको समाजसेवा यात्रामा अर्को ऐतिहासिक सफलता हात परेको छ। नेसनल लोटरीको टिमसँगको निरन्तर पहल र आवेदन स्वरूप संस्थाले दोस्रो पटक ५ लाख पाउण्डको महत्त्वपूर्ण कोष प्राप्त गर्न सफल भएको हो।
यसअघि पनि जिआरएनसी युकेले नेसनल लोटरीबाट २ लाख पाउण्डको फण्ड प्राप्त गरिसकेको छ। आजभन्दा ५ वर्षअघि संस्थाका तत्कालीन अध्यक्ष मान गुरुङ, सदस्यहरु विशाल गुरुङ, मैया केसी र उपाध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष तथा काउन्सिलर) उत्तरबहादुर गुरुङको परिकल्पना एवं नेतृत्वमा अल्डरसटस्थित प्रिन्सेस हलमा नेसनल लोटरीको टिमसँग पहिलो छलफल र आवेदन प्रक्रिया सुरु गरिएको थियो।
सोही प्रारम्भिक माग, दूरदर्शी सोच र निरन्तरको पहलका कारण आज संस्थाले पुनः ठूलो राशिको दोस्रो फण्ड प्राप्त गर्न सम्भव भएको काउन्सिलर उत्तरबहादुर गुरुङले बताउनुभयो। यो फण्डले जिआरएनसीका आगामी सामाजिक गतिविधि तथा सामुदायिक कार्यहरूलाई निरन्तरता दिन र संस्थागत विकासमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ।
यस सफलताको अवसरमा सुरुवाती दिनदेखि सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वहरूप्रति आभार प्रकट गरिएको छ। साथै, अभियानलाई सफल बनाउन खट्नुहुने अध्यक्ष लिला सेलुङ मावो सिनियर प्रोजेक्ट म्यानेजर सुशिला थापा मगर, महासचिव एवम् मानार्थ लेफ्टिनेन्ट सुनिल राना मगरलगायत सम्पूर्ण ट्रष्टी, सल्लाहकार, कार्यसमितिका पदाधिकारीहरूमा बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
लगातार पाँच वर्षसम्म ग्रेटर रसमोर नेपाली कम्युनिटीको वरिष्ठ उपाध्यक्ष पदमा रहेर निष्ठापूर्वक समुदायको सेवा गर्न पाउँदा र संस्थाले यस्तो गरिमामय सफलता प्राप्त गर्दा आफूलाई अत्यन्तै भाग्यमानी ठानेको महसुस काउन्सिलर गुरुङले व्यक्त गर्नुभएको छ।






