- भूमिराज राई
बेलायत । श्रम संस्कृति समाज यूके (एसएसएस यूके) को अध्यक्षमा मनोज पुन सर्वसम्मत चयन भएका छन्।
शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न समाजको उद्घाटन तथा प्रथम अधिवेशनले पुनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिका उपाध्यक्षहरूमा अनिता राई, राजन भण्डारी, मान मगर, सन्तोष राई र चूडाकर्ण थाम्सुहाङ चयन भएका छन्। त्यस्तै, सचिवमा डा. महा राई, कोषाध्यक्षमा सुरज राई र सहकोषाध्यक्षमा मणिकला राई गुरुङ चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा यदुचन्द्र लावती, ध्रुवसरी राई, दुर्गा खापुङ, डम्बर फागो लिम्बू, आइतलक्ष्मी राई, कला राई, विशाल लिम्बू, गंगा देवी राई, गोविन्द राई र प्रबिन राई रहेका छन्।
‘हाम्रो साझा सम्पदा, नैतिक शासन र सामुदायिक भावना’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बेलायतका विभिन्न सहरबाट १२० भन्दा बढी श्रमदाता, शुभचिन्तक, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन भएको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत राखिएको थियो।
विश्वभरबाट शुभकामना सन्देश
अधिवेशनको विशेष आकर्षण विश्वभर छरिएर रहेका श्रमदाताहरूले पठाएका १५ सेकेन्डका शुभकामना भिडियो तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईको विशेष भिडियो सन्देश थियो।
भिडियो सन्देशमार्फत अध्यक्ष राईले अल्डरसटमा आयोजित अधिवेशनको सफलताको कामना गर्दै विदेशमा रहेका श्रमिक नेपालीलाई एकताबद्ध गरी श्रम संस्कृतिको प्रवर्द्धन र राष्ट्र निर्माणमा योगदान पुर्याउने अभियानको प्रशंसा गरेका थिए। हलमा उपस्थित सहभागीहरूले उनको सन्देशलाई स्वागत गरेका थिए।
अधिवेशनको दोस्रो सत्रमा राम इजमको संयोजकत्वमा गठित निर्वाचन समितिमार्फत नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो। निर्वाचन समितिमा इन्द्र राई, महेश वनेम, पारस राना र मान काजी आले सदस्य थिए।

एनआरएनए कार्यवाहक अध्यक्ष मल्ल विशेष अतिथि
समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यवाहक अध्यक्ष तीर्थ मल्ल विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा सन्तोष राई, मनोज पुन, विश्वकाजी राई, राम इजम, मान मगर, ओमप्रसाद थापा, अनिता राई, महेश वनेम, सुबिना राई र राजन भण्डारीले संस्थाको उद्देश्य तथा आगामी कार्यदिशाबारे धारणा राखेका थिए।
आयोजकका अनुसार कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधिका रम्तेल, सांसद पूर्ण लिम्बू, प्रवास प्रमुख तेज राई र केन्द्रीय प्रवक्ता सत्य घले गुरुङलगायत स्पेन, जर्मनी, माल्टा, कतार, यूएई र साइप्रसका श्रम संस्कृति प्रवास समितिबाट शुभकामना सन्देश प्राप्त भएको थियो।
नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता र आगामी योजना
नवनिर्वाचित अध्यक्ष पुनले संस्थालाई सबैको साझा संस्था बनाउँदै बेलायतमा रहेका नेपाली समुदायको हकहित, श्रमको सम्मान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
महाधिवेशनले नवनिर्वाचित कार्यसमितिको कार्यक्षमता अभिवृद्धि तथा आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विशेष तालिम प्रदान गर्ने निर्णयसमेत गरेको छ।
कार्यक्रम संयोजक सन्तोष राईका अनुसार एसएसएस यूकेको यो सुरुवात मात्रै हो। आगामी दिनमा संस्थाले थप रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ।
कार्यक्रमको संयोजन सन्तोष राईले गरेका थिए भने सञ्चालन रुपेश काफ्लेले गरेका थिए। समापनमा अध्यक्ष पुन र संयोजक राईले सहभागी, विशेष अतिथि मल्ल, निर्वाचन समिति तथा देशविदेशबाट शुभकामना सन्देश पठाउने सबैप्रति आभार व्यक्त गरेका थिए।






